प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारीसाधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जना पक्राउ परेका छन् ।
प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमणका घटना भएका थिए । सो घटनाको सिसीटिभी फुटेज, भिडियो र फोटोका अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, सोही वडाका २२ वर्षीय राजन चौधरी, सोही वडाका २० वर्षीय आयूष धिमाल, कनकाई–१ का ४२ वर्षीय गोपाल सङ्ग्रौला, कनकाई–३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी–१० का २५ वर्षीय कुशल तिम्सिना, सोही वडाका ३१ वर्षीय सञ्जय बस्नेत, विर्तामोड–५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा–७ का २८ वर्षीय सुरज राई, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलामको चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ घर भई हाल दमक–१ मा बसोबास गर्दै आएका २२ वर्षीय साजन ल्हागुन पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालबाट म्याद लिएर अनुसन्धान कार्य भइरहेको छ । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा ९९ थान हतियार लुटिएकामा ७७ थान फिर्ता भइसकेको छ। अब २२ थान हतियार फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ।




-18.jpg)












